देशले निकास खोजिरहेको छ ! देशले पिडा भोगिरहेको छ ! आज देश आक्रान्त बनेको छ ! जेन–जीको दुई दिनको प्रदर्शन, आन्दोलनमा भएको क्षति, या भनौ बिकास हुनु अघिको विनाश !
तर जुन ऐतिहसिक भवनहरु जले ! ती भवनहरुको दोष के थियो? हामीलाई त समस्या ति भवनमा अड्डा जमाएर बसेका हरुसंग थियो, भन्ने प्रश्न पनि उठिरहेको छ? अब ती आशमा बसेका ऐतिहासिक भवनहरुले न्याय खाजिरहेका छन् । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी चौकीदेखि थुप्रै सार्वजनिक सम्पत्तिहरु जले, थुप्रै महत्वपूर्ण कागजातहरु नष्ट भए । तर अब देशले पोलिरहेको घाउमा मलम लगाउन शुरु गरेको छ । अन्तरिम सरकार बनेको छ । मन्त्रीमण्डल विस्तार हुँदै छ ।
अलि पछाडि फर्किउ । भदौ २३ र २४ मा जेजे भयो त्यो सबैले बुझेकै विषय हो । जेन–जीद्धारा सरकारप्रति पोखिएको आक्रोषले सडकमात्र तताएन्, दुई तिहाइको दम्भ भएको सरकार नै ढालिदियो । सम्भवत् यो घटना विश्व जगतमा पहिलो हो । २७ घण्टामा देश अभिभावक बिहिन भयो । अहिले केही व्यक्तिहरुले भन्ने गर्छन, सायद भदौ २३ गते विद्यार्थीहरुमाथी सरकारले अन्धाधुन्ध गोली नचलाएको भए , राज्यले यति क्षति भोग्नु पर्ने थिएन । खैर जे भयो त्यो राम्रो भयो या नराम्रो भयो त्यो छुट्टै बहसको विषय बन्ला ।
अहिले प्रश्न यो पनि छ कि जो व्यक्तिहरु नख्खु कारागारमा पूर्व गृहमन्त्री रवि लामिछानेलाई निकाल्न गएका थिए के ति साचिकै जेन–जी थिए वा पार्टीका कार्यकर्ता? यो प्रश्नपनि आम जन्मानसको चासोको विषय बनेको छ । एकातरि रवि लामिछानेलाई तत्कालीन दुई तिहाइको सरकारले सुनियोजित रुपमा फसाएको हो भन्ने जमात पनि छ । अर्कोतर्फ रविको दोष भएकाले पक्राउ गरिएको भन्ने जमात पनि छ ।
रवि लामिछानेले जनताबाट पाएको मत, साथ, विश्वास र अझै भनौ पुराना नेताबाट आजित भएकाहरुको आशा बनेर उदाएका थिए रवि ! अब प्रश्न उठ्छ कि सत्ता, शक्ति र नोटको चलखेलमा फसाउने होडमा रहेको तत्कालीन सरकारको चपेटमा रवि लामिछाने मात्र परेका छन् त? रवि त एउटा अनुहार मात्र हो की ! सुनियोजित रुपमा फसाएर वर्षैदेखि कारागारमा कैदी जिवन बिताइरहेका कयौ राजनीतिज्ञ ब्यक्तिहरु आफूलाई फसाइएको बताइरहेका छन् । तर, उनीहरूको चित्कार न त कसैले सुन्यो, नत कोही उनीहरूको पक्षमा बोले ।
यो भन्दै गर्दा कारागारमा रहेका सम्पूर्ण कैदीहरु निर्दोष छन् । सबैलाई रिहा गरिनु पर्छ भन्ने मेरो आशय कदापि होइन । तर जो कैदिहरु त्यस दिन बाहिर आए र अवस्था सामान्य हुदैँ गर्दा कारागार विभागले कैदी फिर्ता बोलाउदा सहजै रुपमा हाजिर भएकाहरुको हकमा कतै तत्कालीन सरकारको चपेटामा परेकाहरुले यो नयाँ बनेको अन्तरिम सरकार या भनौ निर्वाचन पश्चात बन्ने जनताको सरकारले उनीहरुको फाइल फेरी पल्टाउने आश पो बोकेका छन की । दोषीलाई कार्वाही हुनुपर्छ तर निदोषलाई सम्मानपूर्वक रिहा गरिनु पर्छ । सायद जेन–जीले उठाएका मागमा सरकारसंगको असन्तुष्टि भ्रष्टाचारमा मात्र सिमित रहेको देखिदैन । नख्खु कारागारमा गएको जेन–जीको समूहले पनि सरकारले रवि लामिछानेमाथी दमन गरेको र प्रतिशोध साँधेको भान दिएको छ ।
जेन–जी आन्दोलनका क्रममा देशभरका कयौं कारागारमा अगजनी भयो, सुरक्षा संयन्त्रले हात उठायो । र हजारौं कैदीहरु बाहिर निस्कए । रवि लामिछाने पनि त्यसै मौकामा बाहिर निकालिएका हुन् । उनी बाहिर निकालिँदा पनि उनको पक्षमा बोलिदिने जमात छ । तर वर्षौदेखि जेल जीवन बिताइरहेका निर्दोष कैदीहरुको पक्षमा बोल्ने कोही देखिँदैनन् । रवि कारागारबाट बाहिर आउँदा हजारौं व्यक्ति समर्थनमा बोल्दा अन्य कैदीहरूलाई भने सबैले गलत अर्थ लगाएका थिए । ती कैदीहरूमा सबै निर्दोष मात्रै छैनन् र सबै दोषी पनि त छैनन् । निर्दोष भएर पनि कारागारभित्र लामो समयदेखि नर्कको जस्तै जीवन बिताइरहेका केदीहरूको एउटै आश अब सायद यही अन्तरिम सरकार वा भनौ आउदो सरकार होला।
राज्यले निपक्ष रुपमा चाह्यो भने दुधको दुध पानीको पानी छुट्याउन सक्छ। पोलिगा्रफ र नार्को टेस्ट गराउ भनेर बारम्बार माग गरिरहेका कैदीको पूर्ण निष्पक्ष रुपमा छानविन हुनुपर्छ र दोषिलाई सजाएको दयारमा ल्याउनु पर्छ तर निर्दोषलाई सम्मानपूर्वक रिहा गर्नुपर्छ भन्ने आम धारण बन्दै गएको छ । जसका कारण निर्दोष व्यक्तिले अनाहकमा कारागारको जीवन बाच्न बाध्य बनायो उसलाई (व्यक्ति वा संस्था) हदै सम्मको सजाए हुनुपर्छ तब मात्र, देशमा विधिको शासन स्थापित हुने नागरिकको आवाज छ ।